
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानि हुने गरेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले आफू अन्तरिमकालदेखि निरन्तर संसद्मा रहेको र पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानि हुने गरेको बताए ।
‘म त अन्तरिमकालदेखि संसद्मा निरन्तर छु,’ शर्माले भने, ‘पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि ।अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’
आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने उनको भनाइ छ । संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै दुखेसो गरे । उनले आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको टिप्पणी गरे ।
‘संविधानमा उपलब्ध प्रगति त गर्यौं तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ। उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं । यो मैले गरेको प्रश्न म आफैंलाई हो । तर मैले आफैंलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ,’ उनले भने, ‘प्रश्न आफैँलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौं । संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौं ।’