
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा हुने आवधिक निर्वाचन निर्धारित समयमै हुने स्पष्ट पारेका छन्।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाका धेरै देशमा समयमा निर्वाचन नहुने गरेको उल्लेख गर्दै नेपालमा भने निर्वाचन समयमा, स्वतन्त्र र निष्पक्ष रूपमा हुने बताए।
‘दक्षिण एशियाका थुप्रै देशहरूमा समयमा निर्वाचन हुँदैन, भए पनि देखावटी मात्र हुन्छ,’ उनले भने, ‘हाम्रोमा राम्रो निर्वाचन हुन्छ, फेयर र फ्रि हुन्छ। यसलाई कसैले हल्लाउन सक्दैन।’
महामन्त्री थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न सरकारले ल्याउन लागेको विधेयकमा सबै सतर्क रहनुपर्ने बताए। उनका अनुसार निर्वाचन आयोगले प्रस्ताव गरेका केही कुरा सरकारले हटाएर विधेयक ल्याउन सक्छ।
‘विधेयक आउँदा कतिपय कुरा हट्न सक्छन्, त्यसमा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘आवश्यक परे थपघट गरेर लैजान सकिन्छ।’
उनले उम्मेदवार चयन स्थानीय तहका पार्टी सदस्यहरूले गर्न पाउने व्यवस्था राम्रो भएको बताए। साथै, मतदाता शिक्षालाई जनस्तरसम्म पुर्याउनुपर्ने आवश्यकता पनि औंल्याए।