कोलम्बो, भदौ ९ :

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा उपस्थित हुनसक्ने अवस्था नरहेको डेली मिररले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

डेली मिररका अनुसार उहाँलाई अगस्ट २६ (मङ्गलबार) मा कोलम्बो फोर्ट मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तय गरिएको थियो । तर अस्पताल अधिकारीहरूले उहाँको स्वास्थ्य अवस्था अदालतमा जान असम्भव रहेको बताएका छन् ।

कोलम्बो राष्ट्रिय अस्पताल (सिएनएच) का एक वरिष्ठ अधिकारीका अनुसार, विक्रमासिङ्घेलाई औषधि सेवन र कम्तीमा तीन दिन आराम गर्न सल्लाह दिइएको छ ।

अधिकारीले भने, ‘हाल लक्षणहरू गम्भीर छैनन्, तर जटिलता उत्पन्न भएमा अवस्था गम्भीर हुनसक्छ । उचित उपचार भएमा उहाँ निको हुन सक्नुहुन्छ तर तीन दिनसम्म आराम र औषधि आवश्यक छ ।’

सावधानीका लागि चिकित्सकहरूले उनलाई इन्टेन्सिभ केयर युनिट (आइसियु) मा स्थानान्तरण गर्ने निर्णय गरेका छन् ।

कोलम्बो फोर्ट मजिस्ट्रेट निलुपुली लङ्कापुराले उनलाई अगस्ट २६ सम्म हिरासतमा राख्ने आदेश दिएका थिए । सुरुमा उहाँलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, तर मेडिकल मूल्याङ्कनले त्यहाँ आवश्यक विशेषज्ञ उपचार उपलब्ध नभएको देखाएपछि कोलम्बो राष्ट्रिय अस्पतालमा सारिएको थियो ।