प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्।
मंगलबार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापति बन्न उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन्।
पार्टीको निर्णयअनुसार उनी नेतृत्व परिवर्तनसहित राज्य व्यवस्था समितिमा स्थानान्तरण भएकी हुन्। सभापति पदका लागि दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता अवधि तोकिएकोमा एकल उम्मेदवारका रूपमा न्यौपानेको मात्र उम्मेदवारी परेको हो। सभापति चयनका लागि बुधबार (भदौ ११) दिउँसो ३ बजे समिति बैठक बस्नेछ।