
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद मनीष झाले मंगलबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। सांसद झा र पूर्वराष्ट्रपति भण्डारीबीच भंगालस्थित भण्डारीको निवासमा करिब डेढ घण्टा कुराकानी भएको थियो ।
भेटपछि झाले भण्डारीको राजनीतिक धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपतिले एमालेलाई पहिलो प्राथमिकताका रूपमा हेरेको बताएका छन्।
‘उनले भनिन्, ‘म एमालेको विधान महाधिवेशनसम्म पर्खन्छु। त्यसपछि निर्णय गर्नुपर्ने भए अर्को बाटो रोज्न तयार छु, तर सक्रिय राजनीतिबाट पछि हट्दिन,’ झाले सुनाए ।
झाका अनुसार, भण्डारीले आफू पहिले नै एमालेमा सक्रिय भइसकेको भए पनि अहिले पार्टीभित्रबाट रोक्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।
त्यस्तै, भण्डारीले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले अनुचित व्यवहार गरिरहेको टिप्पणी गरेको झाले बताए।
भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने अभिव्यक्तिसहितको पुरानो भिडियोसमेत चर्चा भएको थियो।
‘एकातिर मलाई राजनीतिमा आउन भन्नुहुन्छ, अर्कातिर रोक्न खोज्नुहुन्छ’, झाले भण्डारीको भनाइ उद्धृत गर्दै बताए ।