काठमाडौं, भदौ १० :

नेपाल ट्रक यातायात व्यवसायी महासंघले सरकारले असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति आपत्ति जनाउँदै पुनः ध्यानाकर्षण गराएको छ । महासंघले यसअघि साउन २२ गते नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाइसकेको थियो भने पुनःआज (भदौ १० गते) अर्को पत्रमार्फत मन्त्रालयलाई स्मरण गराएको हो ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा, इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आवश्यक पूर्वाधार अझै तयार नभएको अवस्थामै यसलाई अनिवार्य गरिनु अव्यवहारिक भएको उल्लेख छ । विशेषगरी उपत्यकाबाहिरका यातायात कार्यालयहरूले यस्तो निर्णयलाई कार्यान्वयन गर्न नसक्ने र यसले यातायात व्यवसायीमाथि अतिरिक्त आर्थिक भार थप्ने महासंघको भनाइ छ ।

महासंघले संविधानले तोकेको सरकारी कामकाजको भाषा देवनागरी लिपि भएको भए पनि मन्त्रालयले जारी गरेको सूचनामा अंग्रेजी अक्षर मात्र प्रयोग गर्ने निर्णयले राष्ट्रिय भाषा र स्वाभिमानमाथि आँच आउने चेतावनी दिएको छ । यस विषयमा २०८० सालको नेपाल राजपत्रले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी र देवनागरी दुवै लिपि प्रयोग गर्नुपर्ने व्यवस्था गरेको भए पनि, हाल यातायात व्यवस्था विभागले जारी गरेको सूचनाले त्यो प्रावधान उल्लङ्घन गरेको महासंघको दाबी छ ।

यसअघि साउन २२ गते मन्त्रालयलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पनि महासंघले सोही माग अघि सारेको थियो । उक्त पत्रमा इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्ने निर्णयलाई स्वेच्छिकमा रूपान्तरण गर्न आग्रह गरिएको थियो । महासंघले अब पुनः स्मरण गराउँदै असोज १ गतेदेखि उक्त निर्णय कार्यान्वयन गर्दा उत्पन्न हुने विषम् परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वहन गर्नुपर्ने चेतावनी दिएको छ ।

महासंघले सरकार र सरोकारवालाबिच पर्याप्त छलफल नगरी हतारमा निर्णय कार्यान्वयन गर्नु समाधानभन्दा समस्या बढाउने काम मात्र हुने भन्दै तत्काल संशोधनको माग गरेको छ ।