
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताएका छन् ।
‘१० वर्षको जनयुद्धमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठुलो योगदान दिएको थियो,’ उनले भने, ‘रणमैदानमा दुस्मनसँग चलाइने चालजस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।’
अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राना स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भक्त रानामगरलाई क्रान्तिकारी, इमानदार र निष्ठावान् योद्धाका रूपमा स्मरण गरे ।
रानाको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने दाहालको भनाइ छ । ‘भक्त रानामगर युद्धमै घाइते हुनुभयो, उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो । उहाँको स्मृति हामी सबैको मनमा ताजा छ,’ उनले भने ।
दाहालले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए । उनले खेलाडीको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष दाहालले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै भने, ‘यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु ।’