काठमाडौं, भदौ ११ :

प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गते चीनको तियानजिनमा हुने २५औँ एससिओ शिखर सम्मेलनमा सहभागी हुन जाँदैछन्। 

सम्मेलन भदौ १५ - १६ सम्म हुँदैछ । जसमा एससिओका नौ सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुख सहभागी हुनेछन्। नेपाल एससिओको ‘डायलग पार्टनर’ हो।

यस क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम तय भएको छ। ओलीले सम्मेलनका क्रममा सी, मोदीसहित अन्य नेताहरूसँग पनि भेटघाट गर्नेछन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा लिपुलेक हुँदै चीन-भारत व्यापार अघि बढाउने सहमति गरेपछि नेपालभित्र आलोचना चुलिएको छ। प्रधानमन्त्री ओलीले सो विषय उठाउँलान् कि उठाउँदैनन् भन्ने अझै स्पष्ट भएको छैन।

प्रधानमन्त्री ओली भदौ १९ मा चीन भ्रमण सकेर फर्कनेछन् । त्यसको केही दिनपछि भारत भ्रमणमा जाने कार्यक्रम छ।