
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरुलाई नियन्त्रित र एकीकृत गर्न सत्संगले सहयोग पुग्ने बताएका छन् । मध्य बानेश्वरमा नवनिर्मित कवीर सत्संग आश्रमको भवन उद्घाटन गर्दै उनले मानिसलाई सही मार्गमा हिँडाउन सत्संगको महत्त्वपूर्ण भूमिका रहने बताए ।
उनले धर्म, सत्संगमा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘अनियन्त्रित मनहरुलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो । धर्म,सत्कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘समाजमा मिलेर बस्ने वातावरण बनाउन परोक्ष रुपमा सत्संगले मद्दत गर्छ । आश्रमले अझ धेरैलाई सत्मार्गमा हिँड्न प्रेरित गरोस् ।’
अहिलेको जीवनशैली तनावपूर्ण अवस्थामा रहेकाले मानिसहरुलाई सत्विचारमा हिँडाउन र जीवनको लक्ष्य पहिचान गर्ने क्षमता विकास गराउन धार्मिक, आध्यात्मिक संस्थाहरुको भूमिका महत्त्वपूर्ण हुने भन्दै ती संस्थाको प्रवर्धन हुनुपर्नेमा सिंहको जोड थियो ।