काठमाडौं, भदौ १२ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानहरूको समस्या तुरुन्त समाधान गर्न सकिने बताएका छन्। महोत्तरी पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

महामन्त्री थापाले सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ, भुक्तानीमा समस्या र अनुदान नपाउनेजस्ता कुराहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘चालु आर्थिक वर्षमा उखु किसानलाई अनुदान दिन २ अर्ब रुपैयाँ छुट्याइएको छ र केही थप बजेट मिलाएर समस्या समाधान गर्न सकिन्छ।’ कृषि मन्त्रालयले किसानलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिन पहल गरिरहेको पनि उनले जानकारी दिए।

उनले कांग्रेसले सरकारले उखुको उत्पादन बढाउने विषयमा पहल गर्न सुझाव दिइसकेको पनि बताए। अर्को विषयमा उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारमा केही अप्ठ्यारो भए पनि सरकार परिवर्तन नहुने बताए।