
राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाइ र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन् ।
मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा उनले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए । ‘गाउँमा सानाठुला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ,’ उनले भने ।
राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार रहेको बताए । राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उनको भनाइ छ । ‘यसका लागि कृषिलाई आधुनिकिकरण, व्यावसायीकरण र औद्यौगिकीकरण गर्ने खालको शिक्षा प्रदान गर्ने गरी आवश्यक पाठ्यक्रम र पठनपाठनको वातावरण सिर्जना हुनुपर्दछ भन्ने म ठान्दछु,’ उनले भने ।
उनले देशका लागि स्वदेशमै केही गरौं भन्ने सिर्जनशील जनशक्तिको आवश्यकता औंल्याए । दिनहुँ ठुलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवं रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्न नहुनेमा उनले जोड दिए ।
नेपाली जनताको बलिदान, त्याग र संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र यो व्यवस्थामार्फत समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढिरहेको उनको भनाइ छ । उनले आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको दाबी पनि गरे ।
‘एउटा ठुलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी-कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सिर्जना गर्न खोजिएका प्रयत्नहरू एक-एक गरी विस्तारै निस्तेज हुँदै जानेछन्,’ राष्ट्रपति पौडेलले भने, ‘समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त हो भन्ने हामीले भुल्नु हुँदैन ।’