
सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू तोकेको छ ।
न्यायपरिषद्को सिफरिसमा बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकेको हो । हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् ।
यस्तै सदस्यहरूमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई तोकेको हो ।
विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले तोक्ने कानुनी व्यवस्था छ ।
साउन ३० गते बसेको न्यायपरिषद् बैठकले नै परामर्श दिएको भए पनि दुई सातापछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । विशेष अदालतमा विशेषगरी भ्रष्टाचासम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ ।