
काठमाडौं महानगर प्रहरी बलले ३३औं महानगर प्रहरी दिवस मनाउँदै छ ।
राष्ट्रिय सभागृहमा शनिबार बिहान ९ बजेपछि हुने औपचारिक कार्यक्रममा काठमाडौं महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहनेछ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार ‘महानगर प्रहरी बलले आफ्नो ३३औं स्थापना दिवसको अवसरमा भदौ ११ गते स्वयम्भू परिसर सरसफाइ गरेको थियो । भदौ १२ गते नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म सरसफाइ गरेको थियो । त्यस्तै भदौ १३ गते बिहान बालाजु पार्कभित्र वृक्षरोपण सम्पन्न गरेको पाण्डेले जनाए ।
३३औं महानगर दिवसका अवसरमा आव ०८१/८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धिलगायत पुरस्कारले प्रहरीहरूको हौसला बढाइनेसमेत पाण्डेले जानकारी दिए ।
काठमाडौं महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनुअघि २०५० भदौ १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।