
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीलाई विमानस्थलमा बिदाइ गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह । तस्बिर : आशिष पौडेल
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
प्रधानमन्त्री केपी ओली पाँच दिनका लागि चीन प्रस्थान गरेपछि सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरीयतामा छन् । राष्ट्रपति कार्यालयकी उपसचिव अर्चना खड्का अधिकारीले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाएकी छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) को २५औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारी छन् ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेट हुने कार्यक्रम पनि छ । चीनबाट प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश प्रस्थान गर्ने तालिका छ ।