
निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन् । काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रस्तुत गरियो ।
कार्यक्रममा गायक केहरसिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’ को प्रस्तुतिले थप रौनक थपेको थियो । लिम्बूले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे ।
‘आई एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन् । यद्यपि, उनले हालसालै ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्र पनि निर्देशन गरेका छन् । दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए । निर्देशक राउतले ‘कुमारी’ को निर्माण ‘पुजार सार्की’ चलचित्रभन्दा अगाडि नै थालेका थिए, तर विविध कारणले अहिले छायाङ्कनमा जान लागेको हो ।
‘कुमारी’ को निर्माण विनिश इन्टरटेनमेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ । यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन् । चलचित्रमा अभिषेक र आकृतिबाहेक घनश्याम जोशी, सुनीता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रको संगीत केहरसिंह लिम्बू, सुमन तामाङ र प्रशान्त शिवाकोटीले गर्नेछन् । केहरले सबै गीतमा स्वर दिनेछन् । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् । सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले र पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका हुन् ।
चलचित्रको छायांकन यसै सातादेखि काठमाडौंमा सुरु हुँदै छ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ । ‘कुमारी’ को डिजिटल वितरण केन्द्र मोसन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले थिएट्रिकल वितरण सम्हाल्नेछन् ।
सुशन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेशबहादुर रावत छन् । चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन् । चलचित्रमा सुप्रिम पराजुलीको रङ संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।
चलचित्रमा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) को रहेको छ । मिडिया तथा पब्लिसिटी एक्जिक्युटिभ जीवन पराजुली, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, प्रोडक्सन म्यानेजर मनोज जोशी, प्रोडक्सन कन्ट्रोलर विदुर मानन्धर र सुदीप ढकाल, मेकअप आर्टिस्ट समारा जोशी, हेयर स्टाइलिस्ट सरस्वती श्रेष्ठ छन् भने तर्कराज न्यौपाने, राजेशराज गिरी र आयुष दाहालको सहायक निर्देशन रहनेछ ।