बुटवल, भदौ १५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष दिवंगत रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा आइतबार अर्धकदको शालिक अनावरण गरिएको हो । त्यस अवसरमा ‘टंकमणि : एक क्रान्तिबीज’ पुस्तकको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्त्वपूर्ण रहेको स्मरण गरे । उनले टंकमणिले सप्लाई विभागमा रहेर दशवर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए ।

दाहालले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए । उनले उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको र परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरले कदर गरेको जिकिर गरे ।

पाण्डेले आफूहरू कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायत नेता-कार्यकर्ताको उपस्थिति थियो । टंकमणिको २०७८ मंसिर ८ गते सवारीसाधन दुर्घटनामा निधन भएको थियो ।