काठमाडौं, भदौ २८ :

हरितालिका तीजको पूर्वसन्ध्यामा मिलन चौतारीले आज तीज मिलन तथा भेटघाट कार्यक्रम गर्‍यो।  कार्यक्रममा दिदीबहिनी तथा साथी–सङ्गीबीच शुभकामना आदानप्रदानसँगै तीजका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा चर्चित गायिकाद्वय अन्जु गौतम र रीतु कडेलले विभिन्न सुन्दर तीज गीत प्रस्तुत गरेका थिए। गायिकाद्वयका तीज गीतमा सहभागीले छमछमी नाच्दै कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए। सामूहिक नृत्य तथा तीजका सांगीतिक प्रस्तुतिले कार्यक्रममा उत्साह र उमङ्ग थपिएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल,वरिष्ठ पत्रकार कल्पना शर्मा, पत्रकार मनिता आचार्य, रमा न्यौपाने र शिक्षिका सङ्गीता शाहले तीजको सांस्कृतिक तथा सामाजिक महत्त्वमाथि प्रकाश पारेका थिए।

वक्ताहरूले तीज नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसको मौलिकता, सामाजिक सद्भाव र पारिवारिक तथा सामुदायिक सम्बन्धलाई मजबुत बनाउने पक्षलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। पछिल्लो समय तीज मनाउने क्रममा देखिएका केही विकृत पक्षलाई निरुत्साहित गर्दै यसको मौलिक सांस्कृतिक स्वरूपलाई जोगाउनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।

सहभागीहरूले एकअर्कासँग शुभकामना आदानप्रदान गर्दै तीजको खुसी साटासाट गरेका थिए। तीजको दरका रूपमा खीर समेत खुवाइएको थियो भने कार्यक्रममा केक काटेर पनि खुसी साटासाट गरिएको थियो।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. रामप्रसाद दाहाल, गङ्गा केसी र कल्पना कटुवालप्रति सहभागीहरूले धन्यवाद तथा आभार व्यक्त गरेका थिए। कार्यक्रममा यस वर्ष विभिन्न स्थानमा आएको बाढीका कारण ज्यान गुमाएका दिवङ्गतहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो। सहभागीहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।