काठमाडौं, भदौ १५ :

करिब साढे तीन दशक सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य सेवा निवृत्त भएका छन् ।

मन्त्रालयमा आइतबार आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक बिदाइ गरे । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तहका कर्मचारीको सहभागिता थियो ।

बिदाई कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रस्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’ भन्दै प्रशंसा गरे । मन्त्री खड्काले भने, ‘हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँजस्ता समर्पित व्यक्ति राज्यका सम्पत्ति हुन् । साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ ।’

२०८१ असोज ६ देखि ऊर्जा मन्त्रालयमा सचिवका रुपमा कार्य गरेका आचार्यको योगदान स्मरण गर्दै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनको शुभकामना दिए ।

त्यसक्रममा सचिव आचार्यले पनि भावुक मन्तव्य दिएका थिए । सेवाकालमा कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गरे । उनले भने, ‘मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ । २८ हजार पाँच सय मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्ने देखि जलविद्युत्, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ ।’

आचार्यले बक्यौता रकम उठाउने, संरचनागत सुदृढीकरण गर्नेलगायत चुनौतीपूर्ण काममा देखाएको प्रतिबद्धता स्मरण गरे । उनले भने, ‘राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैं तयार हुनेछु ।’

कार्यक्रममा सहसचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिइन् । बिदाइ कार्यक्रममा ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सहसचिवसहित विभिन्न तहका कर्मचारी सहभागी थिए ।