
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री केपी ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनद्वारा सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
एससीओको सम्मेलनमा सहभागी हुन शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलले आइतबार जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरे । साथै नानकाई जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको पनि ओली नेतृत्वको प्रतिनिधि मण्डलले अवलोकन गरे । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुन् ।
यी दुवै भ्रमणमा नेपाली प्रतिनिधिमण्डल टोलीका सबै सदस्य सहभागी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
टोलीमा ओलीका साथ उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत उच्चस्तरीय सरकारी अधिकारीहरू थिए ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन आएका हुन् ।