
राष्ट्रिय सभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद गोमादेवी तिमिल्सिनाले नारायणघाट-काठमाडौँ सडक खण्डको सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘म हिजो मात्रै नारायणघाटबाट काठमाडौँ आउँदै थिए, बाटोको हालत विजोग छ, ६ महिनाअगाडि राम्रै थियो, तर अहिले खाल्डाखुल्टी मात्रै छ, पहिला ५ घण्टामा काठमाडौँ पुगिन्थ्यो, अहिले आठ घण्टामा पनि पुग्न कठित छ, यो बाटो सुधारका निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद नरबहादुर विष्टले पछिल्लो समय भएको ‘भिजिट भिसा’ प्रकरणबारे सरकारसँग जवाफ माग गरे । ‘पछिल्लो समय फेरी भिजिट भिसाको विषय उठेको छ, यसबारेमा गृहमन्त्री रमेश लेखकले सदनमा जवाफ दिनुपर्छ,’ उनले भने।
सांसद भुवनबहादुर सुनारले सरकारले विद्यालय शिक्षा विधेयक गत असार १५ गतेभित्र पारित हुन्छ भने पनि अहिलेसम्म राष्ट्रियसभामा आएको छैन किन? भन्दै सरकारसँग प्रश्न गरे ।
सांसदहरु सुरेशकुमार आले मगर, नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा) र राजेन्द्रलक्ष्मी गैरेले बाढी, पहिरो, महङ्गी, शान्तिसुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।