काठमाडौं, भदौ १८ :

गोंगबुबाट ४ करोडभन्दा बढी नगद र झन्डै १० किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई प्रहरीले आन्तरिक राजस्व विभाग, हरिहर भवनमा बुझाएको छ।

गोरखा नगरपालिका–६ का ७६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको थियो।

श्रेष्ठको गोंगबुस्थित घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद, ९ किलो ५४१.९२ ग्राम सुन, र ३ किलो २१८.९२ ग्राम चाँदी बरामद गरेको छ।

श्रेष्ठका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित डेरामा पनि प्रहरीले छापा मारी ९० हजार ५ सय रुपैयाँ नगद र विभिन्न सुनका गहना बरामद गरेको छ।

बरामद सामानसहित विनोद श्रेष्ठलाई राजस्व छली सम्बन्धी अनुसन्धानका लागि राजस्व विभागमा बुझाइएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

अनुसन्धानका क्रममा श्रेष्ठले डीएसपीहरू पनि सुन राखेर पैसा लिन आउने गरेको बताए । सुन धरौटीमा राखेर रकम लैजाने प्रहरी अधिकृतहरूको नामचाहिँ श्रेष्ठले खुलाएनन् ।