काठमाडौं, भदौ २० :

मधुमेह ‘सुगर’अर्थात् चिनी रोग । पछिल्लो समय नेपालमा यसरोगका बिरामीहरु बढ्दै गएका छन् । विगतमा यसरोगबाट बुढाबुढी समूह बढी प्रभावित हुने गरेको भएपनि पछिल्लो समय युवापुस्तामा समेत व्यापक बढ्दै गएको छ। खसगरी बदलिएको जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपन, असन्तुलित खानपान, मदिरा, धूमपान आदिको सेवन र तनावजस्ता कारणले नेपालमा मधुमेह रोगीको संख्या दिनानुदिन बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

फिजिसियन तथा हर्मोन रोग विशेषज्ञ डा.कल्याण सापकोटाका अनुसार नेपालमा मधुमेह रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । उनका अनुसार हाल विश्वमा कुल जनसंख्याको ११ प्रतिशत मानिसहरुका मधुमेह रोग छ। नेपालको हकमा हेर्दा ८ प्रतिशतमा यो रोग छ । 

तीमध्ये ६० प्रतिशत उच्च जोखिममा छन्। यस सन्दर्भमा सक्रिय न्युजका लागि तिलक पौडेलले फिजिसियन तथा हर्मोन रोग विशेषज्ञ डा. कल्याण सापकोटासँग गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा मधुमेहका रोगीहरु बढ्दै गएका छन्, मधुमेह रोग कस्तो रोग हो ?

सामान्यतयाः मधुमेहलाई चिनिरोग, (सुगर रोग ) भनेर चिनिछ भने हामिहरु डायबिटिज भनेर पनि भन्छौं । सामान्य अर्थमा बुझ्दा यो रोग भनेको कुनै पनि मानिसको शरीरमा चिनीको मात्रा बढ्दै जानु हो । खासगरी शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्ने हर्मोन इन्सुलिन हुन्छ त्यसको उत्पादनमा कमी वा इन्सुलिनको कार्यमा अवरोध हुँदा मधुमेह हुने गर्दछ। मधुमेह मुख्यतः २ प्रकारका हुन्छन्। तीमध्ये यौटा हो गर्भावस्थाको मधुमेह र अन्य किसिमको मधुमेह (वंशाणुगत, प्याङक्रियाजको बिरामीले हुने मधुमेह, हर्मोन गडबडिले हुने मधुमेह र औषधिको दुष्प्रभावले हुने मधुमेह )।

मधुमेह कस्ता बिरामीहरुमा देखा पर्छ ?

मधुमेह जुनसुकै उमेरका मानिसहरुमा पनि हुन सक्छ। त्यसमा प्रकार १ मधुमेह प्रायः २० वर्षभन्दा कम उमेरमै देखिन्छ। यो दुब्लो पातलो मानिसहरुमा बढी देखिन्छ । यसको उपचारको लागि इन्सुलिन नै इन्जेक्सनमार्फत दिनुपर्ने हुन्छ ।तर, अहिले बढी देखिने भनेको प्रकार–२ मधुमेह हो । यो २५-३० वर्षमाथीका मानिसहरुमा देखिन्छ । यो इन्सुलिनको उत्पादन ठिकै मात्रामा भए पनि यसको कार्यमा अवरोध हुन्छ र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन ।
यसको मुख्य कारण मोटोपना, अस्वस्थकर खानपान, व्यायामको कमी, वंशाणुगत समस्या, अनिन्द्रा र मानसिक तनाव हुन् । यो धेरैजसो ४० वर्ष पछिको उमेरमा देखिने भए पनि हिजोआज बढ्दो मोटोपनले गर्दा २०–२५ वर्षको व्यक्तिहरूलाई पनि देखिन थालेको छ। हाम्रो समुदायमा प्राय देखिने मधुमेह प्रकार २ अन्तर्गतको हो ।

मधुमेह कत्तिको जोखिमपूर्ण छ ?

यो निकै अति जोखिमपूर्ण छ । अहिले विश्वभरको अवस्था हेर्दा सबैभन्दा बढी ज्यान गुमाउने भनेको मुटु तथा रक्तनलिका बिरामीहरु छन् । मानिसहरुमा  मुटु तथा रक्तनलिको समस्या ल्याउने तथा बिरामी बनाउने मुख्य कारण भनेको मधुमेह नै हो तसर्थ यो अति जोखिम छ।
मधुमेह लाग्दैमा सुरुमै ठुला समस्या देखा नपरे पनि यसले दिर्घकालिन रुपमा जोखिम निमयाउन सकछ । यसले खासगरी मुटु, मिर्गौला, नशा, आखा, रक्तनली, मष्तिकलगाएतका अंगहरुमा असर गरेर जटिलता निम्याउन सक्ने भएकोले सतर्क रहन आवश्यक छ ।

किन बढ्दै छ त, युवामा मधुमेह ?

पछिल्लो समय खानपान र बदलिँदो जीवनशैली नै युवाहरुमा मधुमेह हुने मुख्य कारण हो। धेरै जंकफुड खानु, मोटोपन अत्यधिक धेरै हुनु युवाहरुमा मधुमेह हुने मुख्य कारणहरु हुन्। धेरै क्यालोरी भएको खानेकुरा खाने तर शारीरिक व्यायम कम गर्ने हुँदा युवाहरुमा मधुमेह बढ्दै गएको हो।

मधुमेहका लक्षणहरू के–के हुन् ?

मधुमेहको लक्षण सधैं र सबै व्यक्तिमा देखा पर्छ भन्ने ग्यारेन्टी छैन। कुनै लक्षण नहुँदा–नहुँदै पनि कहिलेकाहीँ चेकजाँचमा मधुमेह भएको पत्ता लाग्न सक्छ।
मुलतः यसका लक्षणहरु भनेका तौल घट्नु, धेरै प्यास लाग्नु, मुख सुक्खा हुनु, धेरैपल्ट पिसाब लाग्नु, धेरै भोक लाग्नु, गुप्तांग वा पिसाबको सङ्क्रमण भइरहनु, पिसाब फेरेको ठाउँमा कमिलाहरू देखा पर्नु, शरीरमा घाउ–खटिराहरू आइरहनु र चाँडो निको नहुनु, आँखा धमिलो देख्नु, धेरै थकान महसुस गर्नुलगायत यसका लक्षणहरु हुन् ।

यसको उपचार पद्धति के हो ?

यसको उपचार तीन किसिमले गर्न सक्छौं :

१, औषधी सेवन बिना 
जस्तै, खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने,मोटोपना नियन्त्रण गर्ने।
२, औषधी सेवन
कतिपय खानपान र व्यायामले नपुग्ने विरामीहरु हुन्छन् उनिहरुलाई औषधी सेवनको माध्यमबाट उपचार गरिन्छ । त्यसका लागी विभिन्न प्रकारका औषधीको प्रयोग गर्नुपर्ने हुन्छ ।  
३, नियमित इन्सुलिन दिएर
कुनै वंशाणुगत हुन्छ, कोहीमा औषधीले पनि काम नगर्ने अवस्थामा हुन्छन्, भने मधुमेहको प्रकार १ का विरामीहरु उनिहरुलाई नियमित इन्सुलिन दिएर उपचार गरिन्छ ।
मधुमेह उपचारपछि पूर्ण रुपमा निको हुन्छ ?
पूर्ण रुपमा निको हुने भनेको मानिसको प्रकृतिमा भर पर्छ । कोही मानिसहरु अत्यधीक सुगर भएकाहरु हुन्छन् भने कोही सुरुवाती चरण र सामान्य अवस्थामा भएका हुन्छन् । कसैको वंशाणुगत नै हुन्छ ।
सामान्य अवस्थाका बिरामीहरु पूर्ण रुपमा निको हुन्छन् । तर यो दिर्घ रोग भएकोले एकपटक निको भएपनि फेरी बल्झिने सम्भावना धेरै कायम रहन्छ । यसले औषधी सेवन गर्दासम्म नियन्त्रण गर्छ । तर चिकितसकको परामर्श बिना औषधी सेवन छाड्नु हुँदैन । जोखिम सधैं रहिरन्छ।

मधुमेहका बिरामीले के कुरामा ध्यान दिनुपर्छ ?

यो अनुसाशनको रोग हो । तसर्थ बिरामी अनुशासनमा बस्नै पर्छ त्यसपछी भनेको अर्को मुख्य कुरा खानपानमा ध्यान दिनु हो । औषधी पनि खाने र गुलियो खानेकुरा, फास्ट फुड पनि नियमित खाने गरिरहने हो भने औषधीको कुनै औचित्य छैन। अर्को नियमित शारिरिक व्यायाम गर्नु हो ।
त्यससँगसँगै चिकित्सकको नियमित परामर्शमा रहनुपर्छ । औषधीले काम गरेको छ कि छैन ? त्यसले अन्य असर गरेको पो छ कि? मुटु मृगौला रक्तनलिमा असर पुराएको छ कि ? त्यसतर्फ ध्यान दिनुपर्छ ।

यो रोग लाग्नै नदिन के गर्नुपर्छ ?

यो रोगको जोखिममा भनेको परिवारमा अरु कसैलाई छ भने त्यस्तो परिवारका सदस्य जोखिममा हुन्छन् । त्यस्तै मोटोपना भएका व्यक्तिहरु जोखिममा हुन्छन् अर्को अत्यधीक फास्ट फुड तथा सुगरयुक्त खानेकुराको बढी सेवन गर्नेहरु जोखिममा हुन्छन् ।
तसर्थ यस्ता व्यक्तिहरु खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने, मोटोपना नियन्त्रण गर्ने गर्नुपर्छ भने । सानै उमेरदेखी फास्ट फुड तथा जङ्क फुडको प्रयोगमा कमि गर्ने । केक, जस्ता बढी सुगर भएका खानेकुरा कमी गर्ने र समयसमयमा चेकजाँच गर्ने बानिको विकास गर्दा मधुमेह रोग लाग्ने सम्भावना कम हुन्छ ।
(डा.कल्याण सापकोटा चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालका फिजिसियन तथा हर्मोन रोग विशेषज्ञ हुन्)