काठमाडौं, भदौ २३ :

नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक अहिले बुढानीलकण्ठमा बसिरहेको छ । जेनजीको प्रदर्शनलाई लिएर सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक डाकेका हुन् ।

 देउवा निवासमा जारी बैठकमा पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीसहित पार्टीबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक पनि उपस्थित छन् । सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरु झनै आक्रोशित बनेका छन्। सामाजिक सञ्जाल बन्द गरेकोप्रति कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएको छ । 

भ्रष्टाचार र बेतिथिविरुद्ध सडकमा ओर्लिएका जेनजीमाथि प्रहरीले दमन गरेपछि त्यसले अहिले हिंसात्मक रुप लिएको छ । १६ भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने थुप्रै घाइते भएका छन् ।