काठमाडौं, भदौ २७ :

आन्दोलनरत जेनजी समूहको दबाब र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको स्पष्ट अडानपछि संसद् विघटन गरेर शीतलनिवास अन्तरिम सरकार गठन गर्ने तयारीमा अघि बढेको छ।

स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्ने निर्णयमा उन्मुख छन् र सो निर्णयसँगै आजै सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा नियुक्त गरिने तयारी छ। यदि योजना अनुसार सबै प्रक्रिया अघि बढ्यो भने, कार्कीले आजै पद तथा गोपनीयताको शपथ लिनेछिन्।

राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि राजनीतिक दलका शीर्ष नेताहरू, प्रधानसेनापति, तथा आन्दोलनरत जेनजी प्रतिनिधिहरूसँग लगातार छलफल गरेका छन्। गएराति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि अन्तरिम सरकारको नेतृत्वबारे गम्भीर छलफल भएको थियो।

स्रोतका अनुसार, कार्कीले जेनजी समूहको प्रमुख मागहरूमा आफू पनि प्रतिबद्ध रहने बताउँदै संसद् विघटनसहितको प्रस्तावमा मात्र अगाडि बढ्न सक्ने स्पष्ट धारणा व्यक्त गरेकी थिइन्।

शीतलनिवास स्रोतका अनुसार, कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यदि कुनै आकस्मिक परिवर्तन नभए, उनी आजै राष्ट्रपतिबाट प्रधानमन्त्रीको रूपमा शपथ लिनेछिन्।

सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश हुन्। न्यायालयमा रहँदा उनी निर्णायक र स्पष्ट धारणा राख्ने न्यायाधीशको रूपमा चिनिएकी थिइन्। यही कारण उनी आन्दोलनरत पक्ष र केही राजनीतिक शक्ति केन्द्रको साझा उम्मेदवारका रूपमा अघि सारिएको जनाइएको छ।