
फाइल तस्बिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा जानकारी दिँदै उनले रास्वपा छाडेको घोषणा गरेकी हुन्।
श्रेष्ठले लेखेकी छन्, ‘अब खुल्ला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्, मैले पार्टी छाडेकी हुँ।’
पार्टी केन्द्रीय समितिलाई जानकारी दिँदै श्रेष्ठले पार्टी नेतृत्वले गल्ती गर्दै जान तर ती गल्ती कहिल्यै स्वीकार नगर्ने प्रवृत्ति अपनाएको आरोप लगाएकी छन्। यस्तो प्रवृत्तिले आफूलाई असह्य बनेको बताउँदै उनले पार्टी त्यागेको जनाएकी हुन्।
‘गल्तीमाथि गल्ती गरिरहने, तर त्यसको बोझ भने सबैले बोक्नुपर्ने ?’ भन्दै श्रेष्ठले पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत् दुःख दिने काम भइरहेको बताएकी छन्।
उनको भनाइमा, रास्वपाले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि व्यक्तिलाई राख्न थालेको बेला देखि नै आफू आलोचक बनेको स्पष्ट पारिन्।