
सङ्घीय संसद् सचिवालयले हालै संसद् भवनमा भएको लुटपाटसँग सम्बन्धित सामग्री फिर्ता गरिदिन सार्वजनिक आग्रह गरेको छ।
गत भदौ २४ गते, नयाँ बानेश्वरस्थित संसद् भवनमा जेनजी युवाहरुको प्रदर्शनका क्रममा भएको तोडफोड र लुटपाटमा प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन लगायतका विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको सूचनाको आधारमा संसद् सचिवालयले फिर्ता गर्न अनुरोध गरेको हो।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार एक सूचना जारी गर्दै, लुटिएका सामग्री फिर्ता गर्न वा ती सामग्री कहाँ छन् भन्नेबारे जानकारी भएमा जानकारी दिन अपिल गरेको छ।
योजना शाखाका उपसचिव अधिराज राईद्वारा जारी सूचनामा भनिएको छ, ‘यदि कसैसँग ती सामग्रीहरू लगेको भिडियो प्रमाण वा जानकारी छ भने सचिवालयमा उपलब्ध गराइदिनुहोस्। जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिनेछ।’
उक्त प्रदर्शनका क्रममा संसद् भवन र भवन परिसरमा रहेका सवारी साधनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। यस घटनापछि संसद् सचिवालयले सार्वजनिक सहकार्य र सचेतनाको आधारमा लुटिएका सामग्री फिर्ता गर्न यो अपिल गरेको हो।