
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन्। ‘परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो’, महान्यायाधिवक्ता बरालले भनिन्, ‘यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु ।’
वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।