काठमाडौं, भदौ ३१ :

जेनजी आन्दोलनपछि माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। पार्टी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन दबाब दिँदै १६ बुँदे प्रस्तावसहित आन्तरिक छलफल सुरू गरेका छन्।

शर्माको प्रस्तावमा संसद् विघटनजस्तो गम्भीर घटनाको जिम्मेवारी पार्टी शीर्ष नेताले लिनुपर्ने उल्लेख छ। ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ प्रस्तावमा भनिएको छ, ‘कुन पदमा कति समयसम्म बस्ने भन्ने स्पष्ट नीति बनाउनुपर्छ।’

उनले यसअघि पनि स्थायी समितिमा नेतृत्व हस्तान्तरणको लिखित प्रस्ताव पेस गरेका थिए। अहिलेको प्रस्तावमा जेनजी आन्दोलनले उजागर गरेको भ्रष्टाचार, नेतातन्त्र, कमिसनतन्त्र र दलाली संस्कृतिको आलोचना गर्दै नयाँ राजनीतिक मार्गचित्र निर्माण गर्नुपर्ने धारणा राखिएको छ।

शर्माले वर्तमान अन्तरिम सरकारलाई समर्थन गर्दै निर्वाचनमा जाने वातावरण बनाउनु पर्ने, २०४६ यता पदमा बसेका सबै पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने र जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे उच्चस्तरीय छानबिनको माग गरेका छन्।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मोडेलमा शासकीय प्रणाली लैजान र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको बहस सुरु गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्।

साथै, दलित, महिला, सहिद परिवार, बेपत्ता, घाइते योद्धा र वृद्ध नागरिकका लागि स्पष्ट नीति बनाउन, स्वरोजगार अभियान चलाउन र राष्ट्रियता रक्षा गर्न पार्टी सतर्क रहनुपर्ने पनि प्रस्तावमा उल्लेख छ।