काठमाडौं, असोज १ :

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतका उद्योग व्यवसायमा करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

सीएनआईका अनुसार हाल क्षतिको विवरण संकलन र मूल्यांकन कार्य जारी रहेकाले क्षतिको आँकडा अझै बढ्न सक्ने सम्भावना छ। उक्त घटनाबाट करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष प्रभावित भएका छन्। भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरी केबलकार, मौलाकाली केबलकार र होटल तथा पर्यटन क्षेत्रजस्ता रोजगारी केन्द्रित संस्थामा क्षति पुगेको छ।

२८ भाटभटेनीमध्ये २१ वटा सुपरमार्केटमा क्षति पुगेको छ। तीमध्ये ९ वटा पुनः सञ्चालनमा आएका छन् भने बाँकी १२ पूर्ण रूपमा ध्वस्त भएका छन्।

होटल संघ नेपाल (हान)का अनुसार करिब २५ होटलमा क्षति पुगेको छ र करिब २ हजार कर्मचारीको रोजगारी प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। व्यावसायिक संस्थाहरूले कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने बताएका छन्, तर अवस्था सामान्य नहुँदासम्म रोजगारी अस्थायी रूपमा प्रभावित हुने देखिएको छ।