
फाइल तस्बिर ।
नारायणगढ-मुग्लिन सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो । सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भएको छ ।
तुइन खोला पुल नजिक पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रुहरुको बिचल्ली हुने गरेको छ । पहिरोका कारण गत शुक्रबारदेखि करिब ४५ घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए ।
कुनै पनि बेला पहिरो खस्न सक्ने आशंकामा त्यहाँ सडक एकतर्फी सञ्चालनमा गरिएको छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको हुँदा ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।