काठमाडौं, असोज ९ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ-नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताएका छन् ।

पटकपटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठूलो सुख्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उनले बताए । उनकाअनुसार पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन, ठूलो जोखिम छ । आजदेखि पानी परेन भने राति पनि काम गरेर भोलि बिहानसम्ममा सडक निर्वाध रुपमा सुचारु गरिने उनको भनाइ छ । घिसिङकाअनुसार पहिरोले सम्पूर्ण यातायात अवरुद्ध भने गरेको छैन ।

वैकल्पिक रुपमा कान्ति पथ र त्रिभूवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ भने बीपी राजमार्ग र कोदारी राजमार्ग निर्वाध चलिरहेका छन् । उनकाअनुसार एक डेढ महिनादेखि रोकिएका धेरै मालबाहक कन्टेनरहरु सीमा नाकाबाट पास भइसकेका छन्, अहिले निर्बाध रुपमा सञ्चालन भइरहेको छ ।
मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । सरकारले मुलिङ–नारायणगढ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उनको भनाई छ । 

मन्त्री घिसिङले भने– ‘बाढीपहिरोको विपद् आएको छ । मुख्य राजमार्ग मुग्लिङदेखि नारायणगढ रुटमा धेरै ठूलो पहिरो गएको छ । हामीले पहिरो पन्छाएर पनि खुलाएका थियौं । दोस्रो पटक त्यो भन्दा पनि ठूलो पहिरो गएको छ । सुख्खा पहिरो जुन गएको छ, त्यसले गर्दा ठूलो समस्या आएको छ । हामीले उपकारणहरु चाहिने भन्दा बढी प्रयोग गरेकै छौं । ’

मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । कहिले काहीँ समस्या आउनसक्छ तर समस्या आएपनि तत्काल खुलाउने हिसाबले अघि बढेको उनले बताए ।