काठमाडौं, असोज १० :

नेपालीहरुको महान् चाड बडा दसैँ लागेसँगै घरघरमा उत्साह छ । दसैँको घटस्थापना गरेसँगै अष्टमी तथा महानवमीमा खसीबोका, हाँस, राँगाको बलि दिने गरिन्छ र मासुको रुपमा खाने गरिन्छ । सँगसँगै यो समयमा हरेक नेपालीहरुको भान्छामा मासुसँगै, चिल्ला र मसलेदार र गुलिया परिकारहरु धेरै पाक्ने गर्छन् । तर चिकित्सकहरुले भने धेरै मासु र मसलेदार तथा चिल्ला र गुलिया खानेकुरा खानु स्वास्थ्यका लागि हितकर नहुने बताउने गरेका छन् ।

दसैँमा मांसाहारीले माछामासु र शाकाहारीले तरकारीका परिकारका साथै मिठाइको परिकार लामो समयसम्म बढी मात्रामा खाने गरेका छन् । अझ धेरै दिनदेखिको मासुसँगै चिल्ला खानेकुरा र गुलिया मिठाईजन्य परिकार खानु त स्वास्थ्यका हिसाबले निकै हानीकारक मानिने भएकोले स्वास्थ्यको ख्याल गर्न फिजिसियन डा. कल्याण सापकोटाको सुझाव छ।

यदि खानपानमा ध्यान नदिने हो भने स्वास्थ्यमा गम्भीर समस्या देखापर्न सक्छ । डा. सापकोटाका अनुसार तपाईंमा केही दीर्घ वा अन्य कुनै प्रकारको रोग छ भने झन् खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । दीर्घ रोगहरु जस्तै मुटुसम्बन्धी रोग, कोलस्टोर, डाइबेटिज, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरुले खानपानमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

खानामा लोभ गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारण के खाने के नखाने भन्ने विषयमा जानकार हुन जरुरी भन्दै उनले नेपालीको भान्सामा पाक्ने खाने कुरा सामान्यतया मुटोरीगीलाई फाइदा पुग्ने खालको नहुने पनि बताउँछन् ।

अत्याधिक मात्रामा चिल्लो, मसलेदार र रातो मासुका परिकार चाडबाडमा पाक्ने गरेका छन् जुन मुटुका लागि फाइदा पुर्‍याउने खालका नहुने भएकोले सामान्य अवस्थामा पनि खानपानमा ध्यान दिन जरुरी हुन्छ । अझ चाडवर्पमा त झन् मासुका परिकार धेरै पाक्ने भएका कारण सावधानी अपनाउन डा. सापकोटाको सुझाव छ ।

दीर्घरोगीले के गर्ने ?

दसैँमा खानपानमा दीर्घरोगी पनि सचेत र सतर्क रहन जरुरी छ। दीर्घरोगीले माछामासु कम खान र मादक पदार्थ सेवन सकेसम्म नगर्न चिकित्सकको सुझाव छ ।दीर्घ रोगहरु जस्तै मुटुसम्बन्धी रोग, कोलस्टोर, डायबेटिज, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरुले खानपानमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

‘दसैँ स्वभावैले खानपानसँग जोडिएको पर्व हो,’ डा. सापकोटा भन्छन्, ‘दीर्घरोगीले यो पर्वमा अलि बढी ध्यान दिन जरुरी छ र स्वस्थ मानिसले पनि स्वास्थ्यको ख्याल गर्दै मसलेदार, चिल्लो तथा पिरो खानेकुरा खाँदा ध्यान पुर्‍याउनुपर्छ, नभए पछि यसले समस्या निम्त्यान सक्छ।’

मधुमेह (डायबेटिज)

मधुमेह भएका बिरामीले दसैँमा बढी प्रयोग हुने चिनी र चिनीबाट बनेका परिकार खानुहुँदैन । खासगरी धेरै दिनदेखिको मासुसँगै चिल्ला खानेकुरा र गुलिया मिठाँईजन्य परिकार खानु मधुमेह रोगीसँगै अन्य व्यक्तिहरुको स्वास्थ्यका हिसावले पनि निकै हानीकारक मानिने भएकोले स्वास्थ्यको ख्याल गर्न डा. सापकोटाको सुझाव छ। खसगरी ड्राइफुड, जंकफुड, चिल्ला, गुलिया, खानेकुरा नखाँदा राम्रो हुने डा. सापकोटको सुझाव छ।

युरिक एसिड

युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना खानु स्वास्थ्यकर हुँदैन। अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँने भएकोले ख्याल राख्न डा. सापकोटाले सुझाव दिन्छन् ।

युरिक एसिड भएका व्यक्तिले यस्ता खाना धेरै खाएमा हड्डी कुँज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ।

चिल्लो हालेको खाने कुरा कमभन्दा कम खानुपर्छ । धेरै मसला हालेको खानेकुरा खाँदा विशेषतः मुटुरोगी, युरिक एसिड भएका बिरामीलाई दीर्घकालीन असर पर्ने चिकित्सकहरू बताउँछन् । धेरै मसला हालेको खानेकुराहरू खानुहुँदैन । घरमै बनाएको खानेकुरा खाँदा शरीरलाई फाइदा पुग्छ । हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ ।

कलेजोका बिरामी

दसैँमा माछामासु सँगै मदिरा धेरै सेवन गर्दा कलेजोमा पनि असर पर्न सक्ने भएकाले सावधानी अपनाउन कलेजो रोग विषेशज्ञ डा. सागर पौडेलको सुझाव छ। विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रने सम्भावना हुन्छ।डा. पौडेलका अनुसार मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो ।

कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ। चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । शरीरलाई पच्ने गरी खाना खानुपर्ने छ । घरमै बनाएका परिकार खाँदा शरीरलाई फाइदा पुग्ने भएकाले जतिसक्दो कम मसलायुक्त खाना खानुपर्ने उहाँको सुझाव छ।

मुटुका बिरामी

दसैँजस्ता चाडबाडमा मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले खानपानमा ख्याल पुराउनुपर्ने मुटुरोग विषेशज्ञ डा. पौडेलको सुझाव छ । यदि मुटुरोगीले स्वास्थ्यको ख्याल गर्ने हो भने मासुको परिकार, चिल्लो, नूनमा नियन्त्रण गर्नु पर्छ । यस्ता कुरामा नियन्त्रण गर्न नसक्दा भोली यसले थप जटिलता ल्याउन सक्ने उहाँको चेतावनी छ ।

मासु कति खाने ?

माछामासु एकैपटक धेरै खाँदा स्वास्थ्यमा असर गर्न सक्छ । मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उपयुक्त मानिन्छ।

चिकित्सकका अनुसार चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्रामसम्म खाँदा असर गर्दैन। तर एकपटक पकाएर लामोसमयसम्म वा धेरै दिनसम्म खानु स्वस्थ्कर मानिदैंन ।

कस्तो मासु राम्रो ?

बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पुर्‍याउनुपर्छ । ताजा मासु रातो देखिन्छ । बासी मासु रङ उडेको र छाम्दा गिलो हुन्छ । धेरैदिन मासु सञ्चित गरेर खानु राम्रो मानिँदैन ।

चाडपर्वमा अस्वस्थकर खसी, बोका, राँगा र भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा ससाना टेपवर्म जाने र त्यसले मानिसको मृत्युसमेत गराउन सक्ने चिकित्सकहरुको भनाइ छ ।