काठमाडौं, असोज १२ :

जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न गठित न्यायिक आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ व्यक्तिको राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको छ।

आयोगले पूर्वप्रधानमन्त्री ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न गृह मन्त्रालयमार्फत अध्यागमन विभागमा सिफारिस गरेको हो।

आयोगले जेनजी आन्दोलनको समयमा भएको दमन, प्रहरीको गोली प्रहार, मृतक र घाइते अवस्थाबारे छानबिन अघि बढाइरहेका बेला संलग्न हुनसक्ने व्यक्तिहरूको अनुसन्धानलाई असर नपरोस् भन्ने उद्देश्यले राहदानी रोक्का गर्न सिफारिस गरिएको हो। साथै, उनीहरूलाई उपत्यका बाहिर जान समेत निषेध गरिएको बुझिएको छ।

आयोगले यस्तो सिफारिस गरिरहँदा गृहमन्त्री रमेश लेखक भने हाल आमाको काजक्रियामा छन्। हुतराज थापाले अनुसन्धान विभागको प्रमुखबाट अवकाश पाइसकेका छन्। रिजाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाइएका छन्। उनीहरु यतिबेला काठमाडौं उपत्यका भित्रै छन् ।

आयोगको यो कार्यबाट जेनजी आन्दोलनमा भएको दमनको अनुसन्धान कार्यलाई तीव्रता दिएको देखिन्छ । साथै यसले राजनीतिक वृत्तमा हलचल समेत ल्याएको छ।