काठमाडौं, असोज १६ :

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवारको घरमै पुगेर भेटघाट र सान्त्वना व्यक्त गरेकी छिन्।

राजधानीका विभिन्न स्थानमा रहेका मृतकका परिवारको घरमै पुगेकी प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सरकारले उनीहरूको पीडामा साथ दिने प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्की काठमाडौं महानगरपालिका–१६ स्थित वनस्थलीमा रहेको सौरभकुमार श्रेष्ठको घर, नागार्जुन नगरपालिका–३ स्थित स्वयम्भुमा कान्छी नगरकोटीको घर, र कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेका बुद्धिबहादुर तामाङको घर पुगिन्।

शोकाकुल परिवारसँग भेट गर्दै उनले भनिन्, ‘जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सपना अधुरो रहन दिने छैनौं। सरकार ती सपना साकार पार्न दृढ छ।’

प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए। उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै तस्बिरमा माल्यार्पण गरेका थिए।

परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै प्रधानमन्त्री कार्कीले राज्य पीडितसँग छ भन्ने अनुभूति दिलाउन खोजेकी थिइन्। उनले परिवारका समस्या र आवश्यकताप्रति सरकार संवेदनशील रहेको बताउँदै, "कुनै समस्या परे सरकारलाई सिधै जानकारी दिनुहोस्,’ भनी आग्रहसमेत गरिन्।

प्रधानमन्त्री स्वयं घरमै आएर समस्याबारे जानकारी लिएको देखेर परिवारका सदस्यहरूले राहतको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।