काठमाडौँ,साउन १६: त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो ।

यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो । तर टोलीले फेला पार्न नसकेपछि फर्केको छ । अहिले सरकारले चीनसँग पनि कुराकानी भइरहेको बताएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्म भुसालले नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने बताउनुभएको छ ।

उद्धारका लागि चाहिने सामाग्रीका लागि नेपाल सरकारले चीनलाई पत्र नै पठाएको समेत उहाले जानकारी दिनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले साउन ७ गते गृहमन्त्री रमेश लेखकसग भेट गर्नुभएको थियो । सो भेटको क्रममा पनि विपद् व्यवस्थापनका लागि चीन सरकारसँग सहयोगका विषयमा कुराकानी भएको थियो । गृहमन्त्री लेखकले पनि चीनबाट नेपाललाई विपद् व्यवस्थापनमा उद्धारका लागि चाहिने सामग्री सहयोग गर्न आग्रह गर्नुभएको थियो ।