पाँचथर, असोज २० :

शनिबार रातिको भीषण बाढी र पहिरोका कारण विभिन्न स्थानमा फसेका गर्भवती महिलाहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सडक मार्ग अवरुद्ध भएपछि सेनाले हवाई उद्धारमार्फत गर्भवतीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको हो।

उद्धार गरिएकामध्ये इलाम जिल्ला माइजोगमाई गाउँपालिका–५ शिरसिरेकी विद्या राई, सन्दकपुर गाउँपालिका–१ छाँगेकी कमलादेवी राई, पाँचथरको फिदिम नगरपालिका–१२ पुल भञ्याङ्गकी २४ वर्षीया लिम्सा लिम्बु र संखुवासभाको भोटखोला गाउँपालिका–३ हुङगुङकी ४२ वर्षीया छिटेक भोटे रहेका छन्।

उनीहरूलाई सेनाको हेलिकप्टरबाट झापास्थित बीएण्डसी अस्पताल र विराटनगरको कोशी प्रादेशिक अस्पतालमा लगिएको हो।

यसअघि आजै बिहान इलामको माबुबाट पनि चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। नेपाली सेनाको गडिथुम्कास्थित रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले अत्यधिक जोखिम र सडक अबरुद्ध भएका स्थानबाट मात्र हेलिकप्टर प्रयोग गरी उद्धार भइरहेको जानकारी दिए।

इलामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनीता नेपालका अनुसार अहिले पनि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीले खोज, उद्धार तथा राहत वितरण कार्य तीव्र रूपमा गरिरहेका छन्। शनिबार रातिको बाढी र पहिरोका कारण इलाममा हालसम्म ३७ जनाको ज्यान गएको पुष्टि भइसकेको छ।