काठमाडौं, असोज २१ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २४ असोजभित्र हस्ताक्षर गर्न आग्रह गरेका छन्। उनले कसैलाई दबाब दिन खोजिएको नभएको स्पष्ट पार्दै, यो प्रक्रिया पार्टी विधानअनुसार र परिपक्व ढंगले अघि बढाइँदै गरिएको बताए।

शर्माका अनुसार विशेष महाधिवेशन विधान विपरीत होइन र यसलाई परिपक्व रूपमा प्रयोग गर्दा पार्टी बलियो बन्नेछ। उनले यसलाई मानव शरीरको अपरेसनसँग तुलना गर्दै सफल महाधिवेशन पार्टीको स्वास्थ्यका लागि आवश्यक रहेको धारणा राखे।

उनले २६ असोजमा बस्ने केन्द्रीय समिति बैठकअघि नै हस्ताक्षर बुझाउने योजना समर्थन गरेका छन्। कांग्रेसको विधानको दफा १७ (२) अनुसार केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन सक्ने र यो विषयमा बैठकमा छलफल हुने उनले जानकारी दिए। यदि समितिले निर्णय नगरे ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग गर्न सकिने उनले बताए।

मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्न सुझाव

शर्माले मंसिर मसान्तभित्र १५औँ नियमित महाधिवेशन सम्पन्न गर्नु नै सर्वोत्तम विकल्प हुने बताए। यसले सबै तहमा ताजा नेतृत्व चयन, पार्टी विधान परिमार्जन, र युवाको सहभागिता सुनिश्चित गर्न सकिने उनको भनाइ छ।

'दुई–ढाई दिनको प्रदर्शनले सत्ता परिवर्तन गर्न सकिन्छ भने दुई–ढाई महिनामा महाधिवेशन किन सकिन्न?' भन्दै उनले नियमित महाधिवेशन सम्भव नभए वैकल्पिक रूपमा विशेष महाधिवेशन आवश्यक रहेको जनाए।

शर्माले २६ असोजको बैठकमा परिपक्व छलफल गरी उपयुक्त निष्कर्ष निकाल्ने र बदलिँदो समयअनुसार कांग्रेसलाई सशक्त बनाउने संकल्प व्यक्त गरे।
'जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्; जो बदलिन्नन्, तिनले बिदा लिन्छन्,' भन्दै उनले पार्टीभित्र परिवर्तनको आवश्यकता औंल्याए।