
दसैँपछि खुलेको पहिलो दिन सेयरबजारमा उल्लेख्य गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २,६०४.९६ विन्दुमा ओर्लिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, आज कुल १ करोड ३ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १६ वटाका सेयरमूल्य बढेका छन् भने २३५ वटाका सेयर घटेका छन्। एउटाको मूल्य अघिल्लो दिनकै स्तरमा अडिएको छ।
धितोपत्रतर्फ सेन्चुरी डिबेन्चर, एनआईसी एसिया ऋणपत्रलगायतका मूल्य १० प्रतिशतसम्मले बढेका छन्। तर, भूगोल इनर्जी डेभलपमेन्ट, नेपाल पुनर्बीमा लगायतका सेयर ९.९९ प्रतिशतसम्मले घटेका छन्।
आजको दिन युनियन हाइड्रोपावरको सबैभन्दा धेरै, २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको १९ करोड र हिमालयन रिइन्स्योरेन्सको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारपछि सेयर बजार पुँजीकरण ४३ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।