काठमाडौं, असोज २२ :

काठमाडौंको ऐतिहासिक हाँडिगाउँ क्षेत्रमा प्रसिद्ध श्री चोकटे नारायण जात्रा भव्य रूपमा सम्पन्न भएको छ। लिच्छवी कालदेखि चलिआएको यो जात्रा स्थानीय परम्परा, अनौठा विधि र सांस्कृतिक भव्यताका कारण चर्चित मानिन्छ।

स्थानीयबासीले यसलाई ‘गन न मरू जात्रा’ वा ‘कहीँ नभएको जात्रा हाँडिगाउँमा’ भनेर चिन्ने गरेका छन्। जात्राको मुख्य आकर्षण चोकटे नारायणको तीनतले रथ हो, जसमा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको मूर्ति स्थापना गरी विशेष पूजाआजा गरिन्छ।

रथको विशेषता भनेकै यसको माथिल्लो भागमा राखिएको मूर्ति, विशिष्ट फूलले गरिएको सजावट र गजुर तल फर्काइएको छानाहरू हुन्। रथको छाना फनफनी घुम्ने तरिकाले टोल वरिपरि परिक्रमा गराइने यो शैली अन्यत्र देख्न नसकिने जात्राको विशेष परम्परा हो।

परम्परागत बाजागाजा, संस्कृत पाठ, भक्तजनको सहभागिता र सांस्कृतिक झाँकीले जात्रालाई अझ आकर्षक बनाएको थियो। स्थानीय समुदायको एकता, समर्पण र सांस्कृतिक पहिचान झल्किने यो जात्रा हाँडिगाउँको गौरवपूर्ण धरोहरका रूपमा स्थापित हुँदै आएको छ।