
प्यालेस्टाइनको लडाकू समूह हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी जीवित रहेको प्रमाण स्वरूपको भिडियो आज सार्वजनिक गरिने भएको छ।
जोशी परिवारले बुधबार जारी गरेको विज्ञप्तिमा गाजाबाट प्राप्त उक्त भिडियोले विपिन जीवित रहेको विश्वास दिलाएको उल्लेख गरिएको छ।
इजरायली गुप्तचर निकायले भिडियो प्राप्त गरेको पुष्टि इजरायली होस्टेज फ्यामिली फोरमले गरेको हो।
२०२३ अक्टोबर ७ मा हमासले इजरायलको किब्बुत्ज अलुमिममा आक्रमण गर्दा जोशीसहित अन्य नेपालीहरू अपहरणमा परेका थिए। विपिन कृषि तालिमका लागि आक्रमण हुनु तीन साता अघि मात्रै इजरायल गएका थिए।
वाल स्ट्रिट जर्नलको अनुसार, आक्रमणको बेला जोशीले ग्रिनेड समातेर बाहिर फ्याँक्दै आफ्ना साथीसाथीको ज्यान जोगाएका थिए।द जेरुसेलम पोस्टले पनि जोशीको परिवारद्वारा भिडिओ सार्वजनिक गरिने र उक्त प्रमाणले उनी जीवित रहेको पुष्टि गर्ने उल्लेख गरेको छ।