काठमाडौं, असोज २२ :

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।

मंगलबार दिएको जाहेरी काठमाडौँ प्रहरी परिसरले बुधबार दर्ता गरेको छ। परिसरले उक्त जाहेरी पनि जाँचबुझ आयोगमा पठाउने जनाएको छ।

अनेरास्ववियुले मंगलबार परिसरमा बुझाएको जाहेरीमा केरमेट भएकाले उनीहरूलाई बोलाएको थियो।प्रहरीले मंगलबार जाहेरी दर्ता गर्ने वा नगर्ने जवाफ दिनका लागि २४ घण्टाको समय मागेको थियो।

अनेरास्ववियुका महासचिव दीपक धामीले जाहेरी दर्ता भएको र जेनजी आन्दोलनमा भएको दमन र तोडफोडको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा पठाउने प्रहरीले बताएको जनाए । अनेरास्ववियुले बालेन र सुदनबिरुद्ध देशका ७७ वटै जिल्लास्थित प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउने छ।