
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशीस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिएकी छिन् ।
सम्बोधनका क्रममा उनले नेपालमा भएको ठूलो परिवर्तनका विषयमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउन निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
साथै, प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएका सन्दर्भमा विदेशी सरकार र संस्थाको सहयोग आवश्यकपर्ने हुनाले त्यसका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् ।
आन्दोलनका क्रममा पर्यटनलगायत गतिविधिहरू केही हदसम्म कम भएको सन्दर्भमा उनले अहिले नेपाल खुलिसकेको र आर्थिक गतिविधि सञ्चालन भइसकेको अवगत गराउन निर्देशन दिएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले सो विषयलाई अब छिट्टै सम्बन्धित सबै ठाउँमा, सबै सरकारहरूलाई र सबै सरोकारवालालाई व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको विषयमा जोड दिएकी थिइन् । विदेशमा लाखौँको सङ्ख्यामा नेपाली रहेको अवस्थामा मुलुकको यो परिवर्तनसँगै उनीहरूका अपेक्षाहरूलाई सम्बोधन गर्न, नियोगले चुस्त दुरुस्त, छिटो र प्रविधि मैत्री सेवा प्रवाह गर्न प्रधानमन्त्री कार्कीले नियोग प्रमुखलाई आग्रह गरेका थिए । उनले पुनर्निर्माणका लागि खोलिएको कोषका विषयमा नियोग प्रमुखलाई आवश्यक प्रचारप्रसार गर्न आग्रह गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।