रौतहट, असोज २५ :

शिक्षक नियुक्तिमा आर्थिक लेनदेन गरेको आरोपमा रौतहटको एक विद्यालयका प्रधानाध्यापक ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र घुस लिन सहकार्य गरेको बिचौलिया अरविन्द प्रकाश साहलाई नियन्त्रणमा लिइएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, विद्यालयले शिक्षक आवश्यकतासम्बन्धी खुला विज्ञापन गरेपछि दरखास्त दिएका एक सेवाग्राहीसँग नियुक्ति दिलाइदिने प्रलोभनमा घुस लिइएको थियो। प्रधानाध्यापक सञ्जयले सो रकम बिचौलिया अरविन्दमार्फत संकलन गरेका थिए।

दुवैजनालाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउका बेला उनीहरूबाट ४ लाख ५० हजार रुपैयाँ नगद बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।