
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यो साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।
आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख । देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।
महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधार हुँदै जाने बताउनुभयो ।
कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदि ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताउनुभयो ।
उहाँले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँच देखि सात प्रतिशतसम्म बढ्नसक्ने बताउनुभएको छ ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आव भन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धी भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो ।
जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो ।