
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् । बिहीबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराएका थिए । पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रीय समितिको बैठकमा नरहेको बताए । उनले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाको जिकिर गरे । बैठकमा कार्यतालिका प्रस्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिए।
बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेको बताए । आम नागरिकले पूर्ण रुपमा सुरक्षा महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताए । निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणासदस्यहरुले राखेको बताए । साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।
बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेन—जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानबिन हुनुपर्ने धारणाहरु आएको बताए । साथै अबको दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहरु आएको बताए । नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए। नियमित अधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा जोड दिए । जेन—जीको पहिरनमा गरिएका कामहरु र व्यक्तिहरु पत्ता लगाउनुपर्ने बताए । सुरक्षाको प्रत्याभुति नभइ राजनीतिक दलहरु निर्वाचनमा जान नसक्ने बताए । संसद पुनःस्थापनातिर लाग्न नहुने उनको भनाइ छ । हजार र पाँच सयको नोट प्रतिबन्ध गर्न माग समेत गरे। हरेक छानबिनका लागि कांग्रेस तयार रहेको बताए ।
बैठकपछि बोल्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले कानून हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरु लागेको बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गरे । सरकार संविधान विपरीत बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरुले राखेको बताए । उनले जेन जीका मागहरु सम्बोधन गरेर जान आवश्यक रहेको बताए । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको बताए।
केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले जेन—जी आन्दालेन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्यांकन लगायतबारे छलफल गर्नेबारे विषयहरु उठेको बताए । पार्टीका सभापति र नेताहरुमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताए । साथै महाधिवेशनबारे पनि विषयहरु बैठकमा उठेको बताए। समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल सुरु भएको बताए । निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा कांग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताए । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै कांग्रेस निर्वाचनबाट नभाग्ने दाबी गरे।एकताबद्ध भएर कार्यतालिका बनाइ कांग्रेस अघि बढ्ने उनले बताए ।