
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव तथा हाल योजना आयोगका सचिव गोकर्णमणि दवाडीलाई उपत्यका बाहिर जान अनुमति दिएको छ।
आयोगले एक पटकमा सात दिनसम्मका लागि उपत्यका बाहिर जान खुला गरेको जनाएको छ। आयोगको विज्ञप्तिअनुसार दवाडीलाई विदेश जान भने अझै पनि रोक लगाइएको छ।
जाँचबुझ आयोगका अनुसार घटनासम्बन्धी क्षतिको मूल्यांकनका लागि सातै प्रदेशमा भ्रमण गर्नुपर्ने भएकाले दवाडीलाई देशभित्र यात्रा गर्न अनुमति दिइएको हो।
आयोगले दवाडीलाई जुनसुकै बेला बयानका लागि बोलाउन सकिने स्पष्ट पारेको छ। उपत्यका बाहिर जानका लागि अनुमति दिइए पनि आवश्यकता परे जुनसुकै बेला आयोगमा उपस्थित गराउन सकिनेछ, विज्ञप्तिमा उल्लेख गरिएको छ।
भदौ २३ र २४ गतेको घटनाक्रमबारे अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगले हाल विभिन्न निकायका जिम्मेवार व्यक्तिहरूसँग बयान लिने तथा क्षतिको मूल्यांकन गर्ने कार्य गरिरहेको छ।