काठमाडौं, असोज ३१ :

ओमानमा जारी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले सामाओलाई २ सय १२ रनको विशल लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो।

नेपालको उच्च स्कोरमा आसिफ शेखले र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। शेखले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाउँदा ऐरीले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाए।

त्यस्तै, रोहित पौडेलले २१ रन बनाउँदा लोकेश बमले १२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३९ रनको विष्फोटक अविजित इनिङ्स खेले। उनीबाहेक कुशल भुर्तेलले १७ रन बनाए भने आरिफ शेख ९ रनमा आउट भए। नेपाल आजको खेलमा जित निकाले अपराजित रहँदै च्याम्पियन बन्नेछ।