
हमासको कब्जामा परेर ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीलाई इजरायलमा श्रद्धाञ्जली अर्पण गरिएको छ। शव नेपाल पठाउनुअघि इजरायलको तेल अवीवस्थित बेनगुरिएन विमानस्थलमा आयोजित कार्यक्रममा इजरायली अधिकारी, नेपाली कूटनीतिज्ञ र नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए।
श्रद्धाञ्जली कार्यक्रममा जोशीको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो। उपस्थित नेपालीहरूले पुष्पगुच्छा र खादा अर्पण गर्दै जोशीप्रति अन्तिम श्रद्धा व्यक्त गरेका थिए। इजरायली नागरिक र अधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए।
पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशीलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। हालै हमासले इजरायली सेनाको हवाई आक्रमणमा उनको मृत्यु भएको दाबी गर्दै शव हस्तान्तरण गरेको थियो। डीएनए र फरेन्सिक परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार जोशीको शव फ्लाई दुबईको विमानमार्फत सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइनेछ। त्यसपछि उनको गृह जिल्ला कञ्चनपुरमा अन्त्येष्टि गरिनेछ। प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि श्रद्धाञ्जलीमा सहभागी हुने तयारीमा छन्।