
इजरायलमा हमासले कब्जामा लिएर हत्या गरेका नेपाली युवा विपिन जोशीको पार्थिव शरीर आइतबार इजरायलले अन्तिम बिदाइसहित नेपाल पठाएको छ।
तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरी जोशीलाई बिदाइ गरिएको हो। कार्यक्रममा इजरायली प्रधानमन्त्री कार्यालय अन्तर्गतका समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका अधिकारीहरू, नेपाल सरकार तथा दूतावासका प्रतिनिधि, माशाव प्रमुख एइनात श्लाइन र नेपाली समुदायको बाक्लो उपस्थिति थियो।
२३ वर्षीय जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा इजरायलको किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका थिए। साथीहरूको ज्यान बचाउने प्रयासमा उनले देखाएको वीरताको व्यापक सराहना भएको छ। हमासले उनलाई गाजामा लगेर हत्या गरेको पुष्टि अघिल्लो सातामात्रै भएको थियो।
जोशी इजरायली कृषि तालिम कार्यक्रमअन्तर्गत माशाभमार्फत इजरायल गएका थिए। उनका परिवारले महिनौंसम्म जीवित फर्किने आशा राखेका थिए। अन्ततः इजरायली सेनाले उनको शव फेला पारी अन्य बन्धकहरूको शवसँगै इजरायल ल्याएको थियो।
सरकारी संयोजक हिर्शले श्रद्धाञ्जली कार्यक्रममै जोशीप्रति सम्मान प्रकट गर्दै भने, ‘विपिन सक्षम विद्यार्थी, असाधारण व्यक्ति र साहसी नायक थिए। हामी उनलाई पीडा र दुःखसहित घर फर्काइरहेका छौं।’
जोशीको पार्थिव शरीर अब नेपाल ल्याइँदैछ, उनका परिवारजन र सम्पूर्ण देशले राष्ट्रिय भावनासहित अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेछन्।