
आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा गरिएको छ। हिन्दु धर्मावलम्बीहरूको विश्वासअनुसार यस दिन धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीले आफूलाई मन पर्ने सफा, उज्यालो र सुसज्जित स्थानमा बास गर्ने भएकाले प्रत्येक घरलाई सम्भव भएसम्म सफा र सजिलो बनाउने चलन छ। यसैकारण, आजको दिन देशभरका घर, टोल र शहरहरू झिलिमिली बत्ती र रंगीचंगी सजावटले झनै उज्यालो र आकर्षक देखिन्छन्।
यसलाई झिलिमिली र सभासुग्घरताको प्रतीकको रूपमा पनि चिनिन्छ। यो पर्व विशेष गरी घर-आँगन सफा गर्ने, रंगीबिरंगी बत्ती र फूलमालाले सजाउने तथा मिठा परिकार बनाएर दिदीबहिनी, दाजुभाइ, साथीभाइबीच प्रेम र स्नेहको आदानप्रदान गर्ने पर्व हो। पाँच दिनसम्म मनाइने तिहारको प्रत्येक दिन फरक–फरक रूपले पूजा–आराधना गरी मनाइन्छ।तिहार नेपालीहरूको महत्वपूर्ण चाड पनि हो ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरू रातभर बत्तीले उज्यालो भएको छ। विद्युतीय बल्ब, झ्याल–ढोका झकिझकाउ लाइटले सजाइएको देखिन्छ ।
लक्ष्मीपूजाको साँझमा घरका सदस्यहरू नयाँ लुगा लगाएर देवी लक्ष्मीलाई पूजा गरी घरमा सुख–समृद्धिको कामना गर्छन्। दियो, माला, अक्षता, धूप, दीप, मिठाई, फलफूल र विशेष लक्ष्मी मण्डप तयार पारेर देवीको आराधना गरिन्छ।
तिहारको यही सांस्कृतिक सौन्दर्य र प्रकाशमय वातावरणका कारण यसलाई 'झिलिमिली पर्व' पनि भनिन्छ। उज्यालोको यो पर्वले अन्धकारलाई परास्त गर्दै आशा, प्रेम र एकताको सन्देश दिन्छ।
तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ । अहिले हिन्दु धर्मावलम्बीहरूका घरहरूमा बत्तीको झिलिमिली छ । काठमाडौंमा पनि जताततै बत्तीले सिंगारिएको छ ।